सल्यान असोज ६ — विजयादशमीको पावन अवसरमा श्री राष्ट्रिय माध्यमिक विद्यालय, बयालडाँडाको आयोजनामा बागचौर नगरपालिका–५, सल्यानमा खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। विद्यालयका अनुसार प्रतियोगिता आगामी असोज १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा विभिन्न वडाका टोल, क्लब तथा युवा समूहका टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विजेता टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने टोलीले नगद रु ३०,०००, द्वितीयले रु २०,००० र तृतीयले रु १०,००० प्राप्त गर्नेछन्।

आयोजक विद्यालयका खेल संयोजकहरूले यस प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रतिको रुचि बढाउने मात्र नभई सामाजिक एकता, आपसी सहयोग र भाईचाराको सन्देश फैलाउने विश्वास व्यक्त गरेको प्रधानाध्यापक भरत जङ्ग शाहिको भनाई रहेकोे छ ।
यसअघि पनि विद्यालयले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रममार्फत स्थानीय स्तरमा प्रतिभा उत्थान र सामाजिक मेलमिलापमा योगदान गर्दै आएको बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष कमल चन्दले जनाएका छन।








