बैशाख १४, सल्यान ।
सल्यान खलंगा लुहापिङ खेलमैदानमा सम्पन्न दोस्रो शारदा मेयर न्यू एयर टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले जितेको छ। फाइनल खेलमा कुमाख गाउँपालिकालाई ४ विकेटले पराजित गर्दै बागचौरले उपाधि हात पार्न सफल भएको हो । टस जितेर पहिले फिल्डिङ रोजेको बागचौरले कुमाख गाउँपालिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा १२७ रनमै रोक्न सफल भयो ।
जवाफमा बागचौर नगरपालिकाले १७ ओभरमै ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै जित सुनिश्चित गर्यो। गत वर्षको उपाधि विजेता समेत रहेको बागचौर नगरपालिकाले यस वर्ष पनि फाइनल जित्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ। उसले लगातार ९ खेल जित्दै उपाधि आफ्नो पक्षमा पारेको हो। शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा सम्पन्न प्रतियोगितामा विजेता बागचौर नगरपालिकाले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता कुमाख गाउँपालिकाले ५० हजार रुपैयाँ हात परेको छ ।








