२४ भदौ २०८१, सोमवार
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सीमामा पर्ने रम्मा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । गयराती खोलामा आएको बाढीले मोटरसाइकलमा सवार मुसिकोट नगरपालिका ४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की अन्दाजी ३३ बर्सिया निर्मला थापा केसीलाई बगाउँदा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलका अनुसार वडा नम्बर ७ को साँखबाट मासु लिएर वडा नम्बर ६ को कानेवाङ तर्फ आइरहेका उनीहरूलाई खोला तर्ने क्रममा मोटरसाइकल सहित बगाएको थियो । उनीहरु दुवैजनाको शव खोलामै मोटरसाइकल र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको थियो । भारी वर्षाका कारण उक्त खोलामा ठुलो बाढी आएको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने यो खोला खहरे खोला हो ।
मृतक मध्ये निर्मलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ भने सर्जनको शव ल्याउने क्रममा रहेको डिएसपी पोखरेलले बताउनुभयो ।