२५ जेठ २०८०, बिहिवार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि मेयर बालेनले पनि आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमा छन‍्‍ । उनले भारत जानु अघि नै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार बिहीबार नक्सा राखिएको महानगर स्रोतले बताएको छ ।

भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो । सो नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ । भारतको उक्त कदमको नेपालभर विरोध भइरहेको छ ।