२९ बैशाख |
दिल बिक्रम शाही,जाजारकोट
निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागी यही २०७९ बैशाख २७ गते राती १२०० बजेदेखि तोकेको मौन अबधिको नियम नेकपा एमाले शिवालय जाजरकोटका नेता कार्यकर्ताहरुले गंभिर उलंघन गरेको पाईएको छ ।
मौन अवधि लागु भएको २४ घण्टा भित्रै बैशाख २८ गते विहानै नेकपा एमालेबाट २०७४ सालको निर्वाचनमा जाजरकोट जिल्ला कर्णाली प्रदेश सभा(ख) सदस्यका लागी निर्वाचित सांसद करविर शाही, २०७४ को स्थानीय निर्वाचनबाट शिवालय गाउँ पालिकाका लागी निर्वाचित अध्यक्ष नरेन्द्र कुमार शाही, आशन्न स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० का लागी शिवालय गाउँपालिकाका लागी अध्यक्ष र उपाध्यक्ष पदका उमेदवार द्धय रंगनाथ योगी र नैनसरा शाही एक स्कोर्पियो जिप एक डबल क्याप बोलेरो जिप र ४/५ वटा मोटर साईकल सहित ठुलो समुह शिवालय ६ अन्तर्गत रोकायजाँत बस्तीमा प्रवेश गरी निर्वाचन आचार संहिता विपरित दिनभर गाउँमा आफ्ना नेताहरुका लागी घरदैलो गर्दै जनताहरु सामु खुलेआम भोट माग्दै हिडेका थिए।
गाडी र मोटरसाईकल प्रयोग गरी नेकपा एमालेका थुप्रै शिर्ष तहका नेता कार्यकर्ता उक्त गाउँमा छिरेको थाहा पाए पछि नेपाल प्रहरी र शशस्त्र प्रहरीका सुरक्षा बलको टोलीले उनीहरुलाई सो दिनको साँझ करिव ६.३० बजेतिर चुनावी प्रचार प्रसार सकि थालारैकर तिर फर्किने क्रममा थाला कचाली सडक खण्ड अन्तर्गत पर्ने सुँगुरखाल बस्तीमा रंगेहात फेला पारेका थिए । रोकायजाँत बस्तीमा विवाहको निम्तो भएकोले आफुहरु उक्त बस्तीमा पुगेको झुट्टो बाहना बनाई उनीहरु प्रहरीबाट फुत्किन सफल भएका थिए ।
स्रोतका अनुसार सो दिन उक्त गाउँमा पसि नेकपा माओवादी केन्द्रबाट असन्तुष्ट पक्षसित खुलेआम छलफल गरी वडा र पालिकामा आफ्नो पार्टीसित चुनावी तालमेल( गठबन्धन ) बनाई फर्किएको भन्ने बुझिएको छ । उनीहरु विवाहमा गएको भनी झुठो बाहाना दिएपनी उनीहरु कुनैपनि ब्यक्तिको निधारमा टिकासम्म नरहेको स्थानीयको दावी रहेकोछ। निर्वाचन आचार संहिता बमोजिम कुनै पनि नेता कार्यकर्ता र उमेदवारहरुले मौन अवधिमा कुनै पनि सवारी साधनहरुको प्रयोग गरी चुनावी प्रचार प्रसार र कुनै पनि माध्यम प्रयोग गरी जनताहरुसँग भोट माग्न पाईने छैन भनिएको छ । तर त्यसको ठिक विपरित यसरी दर्जनौ शिर्ष नेता कार्यकर्ता पछि लगाई उमेदवारहरु आफै गाडीको प्रयोग गरी हुलहुज्जतका साथ खुलेआम गाउँमा चुनावी प्रचार प्रसार गर्दै घरदैलो गर्दा निर्वाचन आयोगले लागु गरेको शुन्य अवधिको नियम प्रति यहाँका स्थानीयहरुको चासो देखिएको छ ।
निर्वाचन आचार संहिता विपरित कार्य गर्ने नेकपा एमालेका शिर्ष नेता कार्यकर्ता र उमेदवारहरुलाई प्रशासनले यसरी रंगेहात फेला पार्दा पनि उनीहरुलाई आचार संहिता विपरितको कार्य गरेको कसुर बमोजिम निर्वाचन आयोगद्धारा कारवाही हुन्छ कि हुदैन भन्नेमा यहाँका स्थानीयहरुको जिज्ञासा बढेको देखिन्छ ।