सल्यान । उमेरले २५ वर्ष। स्थानीय तहमा कार्यपालिका सदस्यको जिम्मेवारी सम्हालिरहेका युवा रेशम विक नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दलित समानुपातिकतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
असोज १२ गते सम्पन्न निर्वाचनमा विकले ९३० मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी बालाराम सुनारलाई ३८७ मतको अन्तरले पराजित गरेका हुन्। सुनारले ५४३ मत प्राप्त गरेका थिए।
बागचौर नगरपालिका–६ निवासी विक विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिमार्फत आफ्नो राजनीतिक यात्रा अघि बढाएका विक पछिल्लो समय पार्टी संगठनलाई चलायमान बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
स्थानीय तहको जनप्रतिनिधिका रूपमा समेत काम गरिरहेका विक विभिन्न सामाजिक संस्थासँग जोडिएर सामाजिक क्षेत्रमा सक्रिय छन्। विशेषगरी दलित समुदायको प्रतिनिधित्व गर्दै सामाजिक न्याय, समानता र समावेशी सहभागिताका सवालमा आवाज उठाउँदै आएका छन्।
युवा उमेरमै राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका विकलाई सकारात्मक सोच, सामाजिक परिवर्तनप्रतिको प्रतिबद्धता र युवाको प्रतिनिधित्व गर्ने युवा नेताका रूपमा उनका समर्थकहरूले लिने गरेका छन्।
दलित समुदायबाट प्रतिनिधित्व गर्दै आएका विकले स्थानीय तहदेखि पार्टी संगठनसम्म प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
२५ वर्षकै उमेरमा स्थानीय तहको कार्यपालिका सदस्य हुँदै कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी प्राप्त गर्नु विकको राजनीतिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा देखिएको छ।