सल्यान — बागचौर नगरपालिका–२, चिल्दालेमा जन्मिएका युवा नेता नवराज डाँगी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार बनेका छन्। सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय डाँगी अध्ययन, अध्यापन तथा सामाजिक क्षेत्रमा समेत निरन्तर क्रियाशील रहँदै आएका छन्।
२०६३ सालमा सल्यानको जनकल्याण माध्यमिक विद्यालय, थारमारेको इकाइ सचिव बनेर विद्यालय तहबाटै राजनीतिक यात्रा सुरु गरेका डाँगीले त्यसपछि महेन्द्ररत्न क्याम्पस ताहाचल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको विद्यार्थी राजनीतिमा आफ्नो भूमिका सशक्त बनाएका थिए।
२०७३ सालको स्ववियु निर्वाचनमा तत्कालीन अवस्थामा मुलुककै सबैभन्दा धेरै विद्यार्थी संख्या रहेको नेपाल ल क्याम्पसमा स्ववियु सभापति पदका उम्मेदवार बनेका उनी विद्यार्थी माझ निकै लोकप्रिय मानिन्छन् (यद्यपि उक्त निर्वाचन स्थगित भएको थियो)। विद्यार्थी राजनीतिमा निरन्तर खटिएकै कारण उनी २०७९ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्य मनोनीत भएका थिए।
गणितमा स्नातकोत्तरदेखि पिएचडी अध्ययनसम्म
शैक्षिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाएका डाँगीले गणित विषयमा स्नातकोत्तर र कानुनमा स्नातक (LLB) गरेका छन्। स्नातकोत्तरपश्चात् काठमाडौँ शिक्षा क्याम्पसमा अध्यापन गराइसकेका उनले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) मा समेत काम गरिसकेका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयबाट ‘द्वन्द्व, शान्ति तथा विकास’ विषयमा एमफिल/पीएचडी (MPhil/PhD) अध्ययनरत छन्।
सल्यानदेखि काठमाडौँ हुँदै केन्द्रसम्म
सानैदेखि सल्यानको भूमिबाट राजनीतिक यात्रा थालेर काठमाडौँसम्म आफ्नो बौद्धिक र राजनीतिक पहिचान विस्तार गरेका डाँगीले आफ्नो लामो साङ्गठनिक अनुभव, उच्च शिक्षा र केन्द्रीय तहको सम्पर्कलाई सल्यानको विकास र पार्टीको सुदृढीकरणमा जोड्न उम्मेदवारी दिएका हुन्।
सरल स्वभाव, सहयोगी भावना र सबैसँग सजिलै घुलमिल हुन सक्ने क्षमता भएका डाँगीको उम्मेदवारीले सल्यान कांग्रेसभित्र युवा पुस्ता, बाल्यकालदेखि पार्टीमा योगदान दिएका निष्ठावान कार्यकर्ता र बौद्धिक वर्गमा नयाँ उत्साह थपेको छ।








