सल्यान — बागचौर नगरपालिका–२, खरीबोट बजारस्थित दाजुभाइ खाजाघरका सञ्चालक दिलबहादुर डाँगीले आफ्नो जन्मदिनको अवसरमा बाढीपीडित परिवारलाई आर्थिक सहयोग गरेका छन्।
डाँगीले जन्मदिन मनाउँदा हुने खर्च कटाएर बागचौर नगरपालिका–८, गैरागाउँ निवासी स्वर्गीय प्रमिला बुढाथोकी बस्नेतका दुई छोराको पालनपोषण, शिक्षादीक्षा तथा भविष्यका लागि रु. ४ हजार सहयोग गरेका हुन्।
प्रमिलाका श्रीमान् स्वर्गीय गोविन्द बस्नेतको २०७७ साल असोजमा कोरोना (कोभिड–१९) का कारण निधन भएको थियो। बुबाको निधनपछि आमाको सहारामा रहेका दुई छोराले केही वर्ष नबित्दै भोटेकोशीको विनाशकारी बाढीमा आमासमेत गुमाएका छन्।
रसुवाको भोटेकोशी–टिमुरे क्षेत्रमा आएको बाढीमा परी प्रमिलाको निधन भएपछि उनका दुई छोराको पालनपोषण, शिक्षादीक्षा र भविष्यका लागि सहयोग जुटाउने अभियान सञ्चालन भइरहेको छ।
आफ्नो जन्मदिनको खर्चलाई सामाजिक सेवामा लगाउँदै डाँगीले गरेको सहयोगले दुःखमा रहेका बालबालिकाको भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ। उनको यो मानवीय पहलको स्थानीयस्तरमा प्रशंसा गरिएको छ।








