थारमारे, सल्यान २६। जनकल्याण नमुना माध्यमिक विद्यालयको आगामी जेठ २७ गते हुने विद्यालय व्यवस्थापन समिति निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप उत्साहपूर्ण बनेको छ। उम्मेदवारहरू घरदैलो, भेटघाट तथा प्रचारप्रसार अभियानमा सक्रिय रूपमा जुटेका छन्।
सदस्य पदका उम्मेदवार पवनराज के.सी. (साँचो चिन्ह) र खुमा बुढाथोकी (घडी चिन्ह) ले विद्यालयको समग्र विकास, गुणस्तरीय शिक्षा, पारदर्शी व्यवस्थापन तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
उम्मेदवारहरूले “सक्षम नेतृत्व, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित विद्यालयको शैक्षिक स्तर उकास्ने, भौतिक पूर्वाधार सुधार गर्ने, अनुशासित तथा व्यवहारिक शिक्षा प्रवर्द्धन गर्ने र समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउने योजना सार्वजनिक गरेका छन्।
निर्वाचनलाई विद्यालयको भविष्यसँग जोडेर हेरिएको छ। अभिभावक, शिक्षक तथा स्थानीय समुदायबीच विद्यालयलाई थप उत्कृष्ट र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने विषयमा व्यापक चासो देखिएको छ।
“आउनुहोस्, सक्षम समिति निर्माण गरौं, गुणस्तरीय शिक्षा सुनिश्चित गरौं” भन्ने सन्देशसहित उम्मेदवारहरूले मतदातासँग आफ्नो अमूल्य मतमार्फत विद्यालयको उज्ज्वल भविष्य निर्माणमा साथ दिन आग्रह गरेका छन्।







