सल्यान१८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानद्वारा सञ्चालन गरिएको घरदैलो कार्यक्रम दिनप्रतिदिन उत्साहजनक बन्दै गएको छ। जिल्लाका विभिन्न गाउँ–टोलमा गरिएको घरदैलो अभियानमा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको छ भने मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
घरदैलोका क्रममा प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार ललित चन्द र समानुपातिकतर्फका उम्मेदवार खडक बहादुर बुढा प्रति जनसमर्थन बढ्दै गएको पार्टीले जनाएको छ। परिवर्तन, सुशासन र जवाफदेही नेतृत्वको पक्षमा मतदाताले देखाएको विश्वासले पार्टी पक्षमा राम्रो नतिजा आउने संकेत देखिएको रास्वपाको दाबी छ।
कार्यक्रमका क्रममा बोल्दै पार्टी नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूहरू विजयी हुनेमा पूर्ण विश्वास रहेको बताएका छन्। घरदैलो अभियानबाट प्राप्त जनसमर्थन र उत्साहले निर्णायक जित हासिल गर्न सकिने आधार मजबुत बनेको उनीहरूको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानले बाँकी दिनहरूमा पनि घरदैलो अभियानलाई थप प्रभावकारी बनाउँदै जनतासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने जनाएको छ।