सल्यान जिल्लाको बागचौर नगरपालिकाको १५ औँ नगर सभा तथा अधिवेशन मिति २०८२ साल चैत २५ गते नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता नगर प्रमुख जनक राज गौतमले गर्नुभएको थियो।

सभामा उप–प्रमुख सुम्निमा डिसी वली, प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर भट्टराई, कार्यपालिका सदस्य तथा नगर सभा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरपालिकाको सभाहलमा सम्पन्न उक्त नगर सभामा नगरको नीति तथा कार्यक्रम, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, विभिन्न विकास निर्माण योजनाहरूको प्रगति समीक्षा तथा आगामी कार्यदिशाका विषयमा विस्तृत रूपमा छलफल गरिएको जनाइएको छ।

साथै, आवश्यकताका आधारमा चालु आर्थिक वर्ष अन्तर्गत रहेका पुराना बजेट शीर्षकहरूबाट आवश्यक शीर्षकहरूमा रकम स्थानान्तरण (रकमान्तर) गर्ने सम्बन्धी प्रस्ताव सभाबाट स्वीकृत गरिएको जानकारी नगरपालिकाले जनाएको छ।

नगर सभामा प्रस्तुत विषयहरू उपर सदस्यहरूबाट रचनात्मक सुझावहरू प्राप्त भएको तथा नगरको समग्र विकास, सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा आवश्यक निर्णयहरू गरिएको जनाइएको छ।









