२४ माघ २०८२, शनिवार। हाम्रो व्यवसाय, हाम्रो एकता सधैं एकता हुने हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सल्यान सुनचाँदी व्यवसायी समिति सल्लाहको १० औँ साधारण सभा बागचौर नगरपालिका सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
सभामा सुनचाँदी व्यवसायी सल्यानका अध्यक्ष रमेश सुनारको सभाध्यक्षता रहेको थियो भने नेपाल सुनचाँदी महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि दियाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। बागचौर नगरपालिकाकी उप–प्रमुख सुनिमा डि.सी. वली विशिष्ट अतिथि रहनु भएको थियो।

त्यसैगरी महासंघका केन्द्रीय सदस्य तथा सल्यानका निवर्तमान अध्यक्ष मेघराज सुनार, सल्यान उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र भण्डारी, सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ओम बि.क., कालिगढ संघका अध्यक्ष पूर्ण सुनार, पत्रकार तथा जिल्लाभरिका सुनचाँदी व्यवसायी, स्थानीय कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुद्धि दियालीले सुनचाँदी व्यवसाय राष्ट्रको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको व्यवसाय भएको उल्लेख गर्दै व्यवसायीहरू संगठित, पारदर्शी र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुनचाँदी व्यवसायमा गुणस्तर, विश्वास र इमान्दारितालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै महासंघ व्यवसायीको हकहितका लागि सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी बागचौर नगरपालिकाकी उप–प्रमुख सुनिमा डि.सी. वलीले स्थानीय सरकार व्यवसायीहरूको समस्या र आवश्यकताप्रति संवेदनशील रहेको बताउनुभयो। उहाँले नगरपालिकाको तर्फबाट व्यवसायमैत्री नीति निर्माण, सीप विकास तालिम, र स्थानीय उत्पादन तथा व्यवसाय प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।
सभामा संगठनात्मक गतिविधि, आगामी कार्ययोजना, व्यवसायीहरूको अधिकार र सुरक्षासम्बन्धी विषयमा पनि छलफल गरिएको थियो। कार्यक्रम भन्ने अतिथि ब्यबसायमा आबद्ध पत्रकार कलाकार सम्पूर्णलाई सम्मानस्वरुप मायाको चिनो वितरण गरेको थियोे भन्ने कार्यक्रम संचालन शंकर बिक तिवारीले गरेका थिए । कार्यक्रम अन्त्यमा समितिले एकता, अनुशासन र सहकार्यका साथ व्यवसायलाई थप सुदृढ बनाउने निर्णय गरेको छ।