सल्यान१९ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले बागचौर नगरपालिकामा पालिका स्तरीय भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमले बागचौर क्षेत्रमा कांग्रेसको संगठन थप सुदृढ बन्दै गएको संकेत दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कर्णाली प्रदेशका सह–महामन्त्री एकराज डाँगीले लोकतन्त्र, संविधान र समावेशी विकासका लागि नेपाली कांग्रेस नै भरपर्दो शक्ति भएको उल्लेख गर्दै निर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्न कार्यकर्तालाई आह्वान गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेस सल्यानका जिल्ला सभापति तथा प्रतिनिधि सभा सदस्य केश बहादुर बिष्टले बागचौर क्षेत्रमा कांग्रेसप्रतिको जनविश्वास बढ्दै गएको बताउँदै आगामी निर्वाचनमा कांग्रेसले उत्साहजनक परिणाम हासिल गर्ने दाबी गर्नुभयो।

उहाँले जनताको आवश्यकता र चाहनाअनुसार विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा जिल्ला सचिव प्रकाश भण्डारी, एकराज बुढाथोकी, सह–सचिव तथा बागचौर नगरपालिकाका नगर प्रमुख जनक राज गौतम, नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य रुद्र चन्द, महाधिवेशन प्रतिनिधि नेत्र वली, भरत गिरी, जिल्ला सदस्य, क्षेत्रीय सभापति सुरेश चन्द, सचिव चमन बुढाथोकी, पालिका तहका पदाधिकारी तथा सक्रिय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता नेपाली कांग्रेस बागचौर नगर सभापति दिपेश डिसीले गर्नुभएको थियो। स्वागत मन्तव्य भौमा गौतमले राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव बुदी बोहराले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउने संकल्प व्यक्त गरेका थिए।









