माघ १५ सल्यान, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सल्यानले डिजिटल सूचना डेस्क स्थापना गरेको छ। कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार केश बहादुर बिष्टको चुनावी प्रचार–प्रसारलाई प्रभावकारी र सहज बनाउन बिहीबार सदरमुकाम खलंगामा उक्त डिजिटल सूचना डेस्क सञ्चालनमा ल्याइएको हो।
डिजिटल माध्यमको प्रयोगमार्फत मतदाता तथा आम नागरिकसम्म उम्मेदवारका एजेन्डा, कार्यक्रम र गतिविधि समयमै प्रवाह गर्ने उद्देश्यले सूचना डेस्क स्थापना गरिएको कांग्रेस सल्यानले जनाएको छ। सामाजिक सञ्जाल, अनलाइन सञ्चार तथा डिजिटल सामग्रीको प्रयोग गरी चुनावी अभियानलाई थप सशक्त बनाइने पनि पार्टीले जनाएको छ।
नेपाली कांग्रेस सल्यानका अनुसार डिजिटल सूचना डेस्कले निर्वाचन अवधिभर सूचना सम्प्रेषण, प्रचार सामग्री व्यवस्थापन तथा मतदातासँग प्रत्यक्ष संवादमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।