२२ पुष २०८२, मंगलवार सल्यानमा आज बजार अनुगमन गरिएको छ । बजारमा बिक्री भइरहेका खाद्य वस्तुको गुणस्तर जाँच गर्न संयुक्त अनुगमन गरिएको हाे। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान, शारदा नगरपालिका, जिल्ला प्रहरी कार्यालयलगायत सरोकारवाला निकायको सहभागितामा आज बजार अनुगमन गरिएको हो। अनुगमन टोलीले शारदा नगरपालिका–२ खलंगा बजार र वडा नम्बर–१ मा रहेको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारका १३ वटा खाद्य पसल तथा खाद्य उद्योगको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा ऐनविपरीत भेटिएका १४२ प्याकेट खाद्यान्न, ३४ थान कन्फेसनरी, १२ बोतल हल्का पेय पदार्थ, १७ थान मसला तथा २ पोका तेल गरी करिब १३ हजार ४७५ रुपैयाँ बराबरका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। टोलीले व्यवसायीहरूलाई व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, एकपटक प्रयोग गरिएको तेल बारम्बार प्रयोग नगर्न तथा कृत्रिम रङको प्रयोग मापदण्डअनुसार मात्र गर्न निर्देशन दिएको छ।

अनुगमनका क्रममा केही पसलमा उपभोग्य मिति सकिएका खाद्य सामग्री अव्यवस्थित रूपमा राखिएको र खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधि अपनाइएको पाइएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख सन्तोष दाहालले उपभोग्य मिति सकिएका खाद्य पदार्थ छुट्टै स्थानमा व्यवस्थापन गर्न र खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधि अपनाउन व्यवसायीलाई कडा निर्देशन दिनुभएको छ। त्यस्तै, केही पसलमा मूल्यसूची व्यवस्थित रूपमा नराखिएको र व्यवसाय दर्तासम्बन्धी आवश्यक कागजात पनि नपाइएको अनुगमन टोलीले जनाएको छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका कार्यालय प्रमुख श्यामलाल खरालले उपभोक्ताले सजिलै देख्ने गरी मूल्यसूची राख्न र व्यवसायसम्बन्धी कागजात चुस्त–दुरुस्त राख्न र आफ्नो व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न सम्बन्धित पसल तथा व्यवसायीहरूलाई निर्देशन दिनुभयो ।








