पुस ११, बागचौर–७ पौराणिक टाटके मेला: खुल्याम ‘लगुर गुर्जा’ खेलमा शुल्क असुली र प्रहरी हस्तक्षेपले विवाद चर्कियो
बागचौर नगरपालिका वडा नं. ७ मा लागदै आएको पौराणिक टाटके मेलामा खुल्याम ‘लगुर गुर्जा (क्वाट–क्वाटे)’ खेल खेलिरहेका बेलामै नगर प्रमुख जनक राज गौतमको आदेशमा नगर प्रहरी र नेपाल प्रहरीले हस्तक्षेप गरी खेल रोकिएको हो।
मेलामा खेल सञ्चालनका नाममा प्रति समूह २० हजार रुपैयाँ रसिद काटेर रकम असुल गरिएको विषय सार्वजनिक भएपछि विवाद चर्किएको हो। मेला व्यवस्थापन समितिले उक्त रकम व्यवस्थापनका लागि उठाइएको स्वीकार गरे पनि यस असुलीको कानुनी आधार र नगरपालिकाको स्वीकृति नभएको देखिएको छ।
नगर प्रमुख गौतमले भने,
“हालको कार्यपालिकाबाट कुनै पनि मेला, महोत्सव वा खेलकुद कार्यक्रमबाट कर वा शुल्क उठाउने निर्णय गरिएको छैन। नियमविपरीत शुल्क असुल भएको जानकारी पाएपछि शान्ति–सुरक्षा कायम गर्न खेल तत्काल रोक्न नगर प्रहरी र नेपाल प्रहरीलाई निर्देशन दिइएको हो।”
तर स्थानीय स्रोतका अनुसार खेल सञ्चालनमा वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर डिसिले सहयोग गरेको बुझिन्छ। नगरको स्पष्ट नीति र निर्णय नहुँदा पनि खेल सञ्चालन हुनु, लामो समयसम्म रोक नलगाइनु, र व्यवस्थापन समितिले वडासँग समन्वय भएको दाबी गर्नुले वडा अध्यक्षको भूमिकामाथि प्रश्न उठाएको छ।
वडा अध्यक्ष डिसिले भने,
“मेला व्यवस्थापन समितिले खेल सञ्चालन गरेको हो, वडाबाट कुनै शुल्क तोकिएको छैन।”
उनी प्रत्यक्ष संलग्नता अस्वीकार गरेका छन्। तर खेल सञ्चालनअघि अनुमति, जानकारी र सहजीकरण कसरी भयो भन्ने प्रश्न अझै अनुत्तरित छ।
मेल व्यवस्थापन समितिले भने,
“वडा तहसँग समन्वयमै खेल सञ्चालन गरिएको हो। खेल, सुरक्षा र अन्य व्यवस्थापन खर्चका लागि प्रति समूह २० हजार रुपैयाँ उठाइएको हो।”
नगरको निर्णयविपरीत शुल्क असुली, खेल चलिरहेका बेला नै प्रहरी परिचालन, र वडा अध्यक्षको सम्भावित सहजीकरणले यस घटनालाई सामान्य व्यवस्थापन त्रुटि नभई संस्थागत कमजोरी र आर्थिक अनियमितताको गम्भीर प्रकरणका रूपमा प्रस्तुत गरेको छ।
स्थानीय वासीहरू, जसले प्रति समूह २० हजार रुपैयाँ तिरेका थिए, आक्रोशित छन्। उनीहरूले “पैसा तिरेपछि खेल खेल्न दिनुपर्छ, नत्र उठाइएको रकम फिर्ता गर्नुपर्छ” भन्दै मेलास्थलमै विरोध जनाएका हुन ।








