बागचौर, सल्यान —
बागचौर नगरपालिकामा आज ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भयो। “अपाङ्गता समावेशी समाजका लागि” भन्ने नारासहित बिहान ११ बजे नगरप्राङ्गणबाट र्याली निकालियो। र्यालीमा अपाङ्गता भएका व्यक्ति, जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले अपाङ्गमैत्री पूर्वाधार, समान अवसर, सामाजिक न्याय लगायतका मुद्दा उजागर गर्न प्लेकार्ड प्रदर्शन गरे।

औपचारिक सभामा वक्ताहरूले अपाङ्गता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी र पहुँचयुक्त पूर्वाधार सुनिश्चित गर्न राज्य, स्थानीय तह र समुदायको समान जिम्मेवारी रहनेमा जोड दिए। नगरपालिकाले आगामी दिनमा अपाङ्गमैत्री योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्यो।

कार्यक्रमको प्रमुख अतिथि बागचौर नगरप्रमुख जनकराज गौतम हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, वडा अध्यक्षहरू, सामाजिक अभियन्ता, कार्यपालिका सदस्य र कर्मचारीहरूको पनि उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता कल्याणकारी अपाङ्ग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बहादुर बुढाले गर्नुभयो।

अध्यक्ष बुढाले उपाङ्ग परिचयपत्र वितरणसम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्नुभयो भने समितिका सदस्य चुडामणि वलीले मुख्य बुँदाहरू प्रष्टिकरणसहित सहभागीहरूलाई जानकारी गराउनुभयो।










