सल्यान मंसिर १६। शारदा नगरपालिकाको नगरसभा १८औँ अधिवेशन मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा बसेको त्यसभित्र ऐन तथा कानुन, राजस्व परामर्श समिति, न्यायिक समिति सहित नगरसभाका ७ वटै स्थायी समितिहरूका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएको हो।
अधिवेशनले आगामी वर्षका विकास योजना, आर्थिक व्यवस्थापन, सुशासन र सेवा प्रवाह सुदृढीकरणमा जोड दिँदै नीतिगत निर्देशनहरूलाई अनुमोदन गरेको पनि नगरपालिकाले जनाएको छ।
नगरसभाकै अवसरमा शारदा नगरपालिकाबाट सेवा निवृत्त भएका तीन जना कर्मचारीलाई सम्मानपूर्वक विदाइ गर्दै उनीहरूको दीर्घ सेवाप्रति कृतज्ञता व्यक्त गरिएको थियो।
समापन सत्रमा नगर प्रमुख भण्डारीले नगरपालिकाले अघि सारेका विकास योजनाहरू प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउँदै आगामी आर्थिक वर्षलाई “सीप, सेवा र सुशासनमा केन्द्रित वर्ष” बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।








