सल्यान कार्तिक १४ बागचौर नगरपालिकाले वडा नं. १० मा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतम रहनु भएको थियो भने विशिष्ट अतिथि उप–प्रमुख सुम्निमा डि.सी. वली, वडा अध्यक्ष ज्ञानप्रसाद शर्मा धिताल, अन्य जनप्रतिनिधि, स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी, पञ्जीकरण शाखाका कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा वडा क्षेत्रका वृद्ध नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला लगायत सामाजिक सुरक्षा भत्ता प्राप्तकर्ताहरूलाई भत्ता वितरण गरिनुका साथै ज्येष्ठ नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि सेवा प्राप्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गौतमले भन्नुभयो —

> “आफू निर्वाचित भएदेखि नै वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता वितरणको कार्य सुरु गरेका हौँ। पहिलेजस्तो बैंकसम्म पुगेर लामो लाइन बस्नुपर्ने अवस्था अब छैन। यो काम हाम्रो चुनावी प्रतिबद्धताको हिस्सा हो, जुन आज व्यवहारमा रूपान्तरण भएको छ। साथै, ज्येष्ठ नागरिक र सबै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणजस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”

नगर प्रमुखका अनुसार, बागचौर नगरपालिकाले स्वास्थ्य सेवा र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रम समुदायमै पुर्‍याउने नीति अवलम्बन गरेको छ।

कार्यक्रमले स्थानीय बासिन्दामाझ सहजता, खुसी र नगरपालिकाप्रति विश्वास थप बलियो बनाएको वडा कार्यालयले जनाएको छ।