बागचौर नगरपालिकाको आयोजनामा घुम्ती शिविर सम्पन्न — ७६ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा
बागचौर नगरपालिकाको आयोजनामा तथा विकलाङ्ग मित्र समूह/अपांग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (HRDC) बनेपा, काभ्रेपलान्चोकको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित घुम्ती स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
नगरका विभिन्न वडाका शारीरिक अपांगता भएका बालबालिकाहरूको स्वास्थ्य परीक्षण, उपचार तथा पुनर्स्थापन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस शिविरमार्फत जम्मा ७६ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
शिविरमा हड्डी, जोर्नी, हातखुट्टा तथा शारीरिक असन्तुलनसँग सम्बन्धित समस्याका बालबालिकाहरूको परीक्षण, परामर्श तथा पुनर्स्थापन सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा अभिभावक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख जनकराज गौतमले भन्नुभयो — “अपांगता भएका बालबालिकाको पहिचान, उपचार र पुनर्स्थापनका लागि यस्ता शिविरहरू प्रभावकारी माध्यम हुन् । बागचौर नगरपालिका समुदायमै पुग्ने स्वास्थ्य सेवा विस्तारमा निरन्तर प्रतिबद्ध छ ।”







