सल्यान, डिसपी डा. हेमबहादुर केसी र इन्स्पेक्टर थारमारेको पहलमा, बागचौर नगरपालिका–७ का वडाध्यक्ष र स्थानीयवासीहरूको सहयोगमा ८० वर्षीया एकल आमा नोखा भण्डारीको नयाँ घर निर्माण सम्पन्न गरिएको छ।

वर्षौंदेखि जीर्ण टहरामा बस्दै आएकी वृद्ध आमालाई सुरक्षित बासस्थान उपलब्ध गराउन सामूहिक सहयोग जुटाइएको थियो। सुरक्षाकर्मी, जनप्रतिनिधि र समाजसेवीहरूको श्रमदान तथा आर्थिक योगदानमा घर निर्माण सम्पन्न भएको हो।

घर बनेपछि भण्डारी टोलकी बुढी आमा खुसी र हर्षित मुद्रामा देखिएकी छन्। आँखा रसाउँदै उनले भनिन्, “अब मेरो बुढ्यौली पनि सुखसँग बित्ने भयो, सबैलाई भगवानले माया गरोस्।”
कार्यक्रममा डीएसपी डा. केसीले भने, “असहाय र वृद्ध आमाबुबाको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म हो,” भन्दै आगामी दिनमा पनि यस्ता मानवतामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

स्थानीय बासिन्दाहरूले यस कार्यलाई मानवता र सहानुभूतिको ज्वलन्त उदाहरणका रूपमा स्वागत गरेका छन्।








