सल्यान असोज १३,— दशैँ पर्वको अवसरमा बागचौर नगरपालिका–८, कोटमौला स्थित ऐतिहासिक कालिका मन्दिरमा यस वर्ष पनि बलि दिने पुरानो परम्परा निरन्तरता पाउने भएको छ।

विशेषगरी महाअस्टमीको दिन बिहानैदेखि भक्तजनहरूले राँगो, बोका, परेवा, हाँसलगायतका जनावर र पक्षीको बलि अर्पण गर्ने परम्परा यहाँ शताब्दीऔँदेखि जीवित छ।

दशैँको समयमा यहाँ विभिन्न धार्मिक संस्कारहरू सम्पन्न हुने गर्दछन्। फुल पाथिको दिन मन्दिरबाट बाजागाजा सहित फूल पाथी ल्याइन्छ र बाउने थल्लोमा पुर्याइन्छ। सो अवसरमा बोकाको बलि दिने परम्परा रहँदै आएको छ।

फूल पाथी घर–घरमा पुर्याउने प्रथाले गाउँमा धार्मिक उत्साह छाउने गरेको स्थानीयहरूको भनाइ छ।

यस मन्दिरसँग खारो आउने विशेष मान्यता पनि जोडिएको छ। पुरानो धारणा अनुसार खैराबाङ्गतर्फबाट खारो आउँदा अनिष्ट हुने भनाइ प्रचलित थियो। पछि भने खारो बागचौर–१०, पाग्रारुख आसपास देखिने गरेको र दशैँ नजिकिँदै जाँदा जमिनमाथि आउने गर्थ्यो भन्ने विश्वास अझै कायम छ। यसलाई देवीको शक्ति र कृपाको प्रतीकका रूपमा लिने गरिन्छ।

महानवमीको राति कालिका मन्दिर परिसरमा भव्य मेला लाग्ने परम्परा छ। टाढाटाढाबाट आएका भक्तजनहरूले देवीको दर्शन गर्ने, पूजाआजा गर्ने र आपसी भेटघाट गर्ने गर्दछन्। मेलाको अन्त्य भने राँगोको बलि दिएपछि मात्र हुने गर्दछ।

यसैगरी, विजया दशमीका दिन मन्दिरमै टिका लगाइएपछि मात्र भक्तजनहरू घर–घरमा टीका लगाउन जाने प्रथा रहँदै आएको छ। स्थानीयको भनाइमा देवीको टीका ग्रहण नगरी घरमा टीका लगाउन सुरु नगर्ने चलन अझै पनि कडाइका साथ पालना हुँदै आएको छ।

पछिल्ला वर्षहरूमा बलिको विकल्पका रूपमा फलफूल, नारिवल र फूल अर्पण गर्ने चलन बढे पनि अझै पनि अधिकांश भक्तजनले देवीलाई पशु बलि अर्पण गर्ने संस्कारलाई निरन्तरता दिइरहेका छन्। भीड व्यवस्थापन र सुरक्षाका लागि यस वर्ष प्रहरी र स्थानीय युवाहरूको सक्रिय सहयोगमा विशेष व्यवस्था मिलाइएको छ।