असोज १० ,सल्यान — शारदा नगरपालिका सल्यानले स्थानीय नागरिकको सहजताका लागि नगर बस सेवा संचालनमा ल्याएको छ। नगरवासीलाई यातायात सुविधा पुर्‍याउने उद्देश्यले सञ्चालन गर्न लागिएको यो सेवा शुक्रबार (२०८२ असोज १० गते) बिहान ७ बजे उद्घाटन गरिएको हो।

उद्घाटन समारोह शारदा नगरपालिका–१ श्रीनगर बसपार्कमा सम्पन्न भएको थियो। सो अवसरमा नगरवासीलाई कार्यक्रममा उपस्थित भई नयाँ बस सेवाको सुरुवातलाई सफल बनाउन अनुरोध गरिएको थियो।

नगरपालिकाले पहिलो चरणमा श्रीनगर–खैरावाड रुटमा बस सञ्चालन गर्ने जनाएको छ। यस सेवाबाट विद्यार्थी, कर्मचारी, व्यापारी तथा सर्वसाधारण सबै लाभान्वित हुने अपेक्षा गरिएको छ।

शारदा नगरपालिकाले नगरवासीलाई यातायात सहज बनाउन आगामी दिनमा अन्य रुटहरूमा समेत सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।