शारदा नगरपालिका सल्यानले नगरसभाको १७ औ अधिवेशन बाट नयाँ निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार भएको नगर अधिवेशन बाट आर्थिक बर्ष २०८२/०८३ का लागि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जीवन वहादुर शाहीकोको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशन बाट शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले आगामी वर्षका योजनाहरू प्रस्तुत गर्नु भएको थियो ।नगरले आगामी बर्षका लागी कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक सेवा र उद्यम विकास लगायत विभिन्न क्षेत्रलाई प्राथमिकता दिएको नगर प्रमुख भण्डारीले बताउनु भयो ।

नगर प्रमुख भण्डारीले प्रस्तुत गर्नु भएका कार्यक्रमहरुमा
कृषि र पशुपालन क्षेत्रमा आत्मनिर्भरता र व्यवसायीकरणलाई प्राथमिकता,गुणस्तरीय बीउ रासायनिक मलको व्यवस्थित आपूर्ति, घुम्ती माटो परीक्षण शिविर, व्यवसायिक कृषियन्त्र वितरण, उच्च मूल्यका बाली उत्पादन, मौरीपालन, सुन्तला र ओखर खेती विस्तार, बाँझो जमिनको सदुपयोग र जलवायु अनुकूल तरकारी खेतीलाई प्राथमिकता लगाएतका छन् ।
यस्तै पशुपालनलाई व्यवसायीकरण गर्दै पशु दाना उत्पादन, कृत्रिम गर्भाधान, खोप अभियान, विशिष्ट जातका पन्छीपालन र गौशाला व्यवस्थापन, बेरोजगार युवा, महिलाहरू र पिछडिएका वर्गलाई लक्षित गर्दै सीप विकास तालिम, स्वरोजगारका लागि कच्चा पदार्थको उपलब्धता, निजी क्षेत्रसँगको सहकार्य र लघु उद्यम प्रवर्द्धनमा जोड, मेयर उत्कृष्ट कृषक पुरस्कार लगाएतका दर्जनौ कार्यक्रम प्रस्तुत गरिएको छ ।आगामी आर्थीक बर्षमा पर्यटन प्रवर्द्धनका लागि खैरावाङ्ग मन्दिर क्षेत्रको विकास, पार्क निर्माण, होमस्टे प्रवर्द्धन , बुद्ध पार्क संरक्षण र पर्यटन सूचना केन्द्र स्थापना जस्ता कार्यक्रमहरू ल्याइएको छ ।

भण्डारीले नगरको पुर्वाधार विकास,शिक्षा, स्वास्थ्य,खेलकुद र न्यायिक समितीका कामहरुलाई समेत दिगो,प्रभावकारी र नागरिक मुखी रुपले संचालन गर्न नयाँ सोच नयाँ बिचारका साथ विभिन्न कार्यक्रमहरुलाई अगाडि सारिएको बताउनु भयो ।उहाँले
स्वास्थ्य क्षेत्रमा,हाम्रो स्वास्थ्य, राम्रो स्वास्थ्य’ नाराका साथ सबै वडामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन, आपतकालीन सेवा सुदृढीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, पोषणयुक्त आहार वितरण, विद्यालय स्वास्थ्य कार्यक्रम र मानसिक स्वास्थ्य सेवा विस्तार,बालबालिकालाई पोषणयुक्त खाद्यवस्तु उपलब्ध गराउने, स्तनपान कक्ष स्थापना, किशोरकिशोरी प्रजनन स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने,पूर्वाधार विकासमा सडक मर्मत, सडक बत्ती विस्तार, बसपार्क व्यवस्थापन, सडक गुरुयोजना अद्यावधिक तथा नमूना विद्यालय सञ्चालन,वन, वातावरण र विपद् व्यवस्थापनका लागि जलवायु परिवर्तनसँग जुध्ने कार्यक्रम, वृक्षारोपण, फोहरमैला व्यवस्थापन सुधार र विपद् कोषमा रकम विनियोजन गर्ने योजना लाई सार्वजनिक गरिएको छ ।

यस्तै शिक्षा क्षेत्रमा सबै बालबालिकालाई गुणस्तरीय, प्रतिस्पर्धी, प्रविधिमैत्री तथा बालमैत्री वातावरणमा पहुँच सुनिश्चित गर्दै रोजगारमुखी शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको, १० वर्षे शिक्षा योजना कार्यान्वयन, बालविकास कक्षाका शिक्षकलाई तालिम, उत्कृष्ट विद्यालय र शिक्षक सम्मान, सुरक्षित शैक्षिक वातावरण निर्माण, अभिभावक शिक्षा कार्यक्रम र असहाय बालबालिकालाई छात्रावासमार्फत शिक्षा उपलब्ध गराउने व्यवस्था लगाएतका कार्यक्रम छन् भने,खेलकुद क्षेत्रमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन, प्रशिक्षक व्यवस्थापन र मेयर कप क्रिकेट प्रतियोगिता निरन्तरता दिने योजना प्रस्तुत गरिएको छ । खानेपानी समस्याको समाधानका लागि त्रिपक्षीय सम्झौता अनुसार ठूला योजना अघि बढाइने, निजी धारा जडान अभियान निरन्तरता दिने, स्वच्छता र फोहर व्यवस्थापनलाई व्यवस्थित र आधुनिक बनाउने कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।न्यायिक समितिको काममा चुस्तता र गुणस्तर ल्याउन व्यवस्थित इजलास निर्माण र न्यायिक मामिला व्यवस्थापन प्रणाली सुरु, सूचना मैत्री बनाउने उद्देश्यले सूचना पाटी र डिजिटल सेवा विस्तारमा जोड,नगरलाई ‘शून्य बेरुजु’ नीति अपनाउँदै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने, लेखा परीक्षणलाई वस्तुनिष्ठ बनाउन र कर्मचारी तथा जनप्रतिनिधिलाई आवश्यक तालिम प्रदान गर्न प्रतिबद्धता समेत गरिएको छ ।

१७ औं अधिवेशनमा प्रदेशसभा सदस्य लक्ष्मी सुनार, जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल र उपप्रमुख असविर बुढाथोकीले बोल्दै नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम जनपक्षीय भएको उल्लेख गर्नुभयो ।उहाँहरुले सार्वजनिक गरेका कार्यक्रमहरुलाई कार्यान्वयनमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षमा आज सम्म संचालन हुने अधिवेशनको उद्घाटन सत्रमा,राजश्व परामर्श समिति र न्यायिक समितिको संयोजक सुस्मिता सापकोटा,कृषि पर्यटन, पूर्वाधार तथा प्राकृतिक स्रोत समितिका संयोजक लोकमान बुढाथोकी, अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक सुरेन्द्र बुढा, विधान समितिका संयोजक हेमेन्द्र कुमार बुढाथोकी, सुशासन तथा स्थानीय सेवा समितिका संयोजक सविन हमालले प्रतिवेदन उपर उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।








