सल्यान जेठ ९ गते ,दुर्गममा डाक्टर सहितको निःशुल्क शिविरबाट ३०६ जनालाई स्वास्थ्य सेवा
यस गाउँपालिकाको दुर्गम क्षेत्र लेखचौरपानीमा डाक्टरसहितको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । वडा नं–५ स्थित दुर्गम बस्ती लेखचौरपानीमा आयोजना गरिएको शिविरमा ३०६ स्थानीयले सेवा लिनुभएको छ । वडा नं ५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीको विशिष्ट आतिथ्यतामा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

दिगो स्वास्थ्यको आधारः आयुर्वेद उपचार” भन्ने नारासहित आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १८१ जना महिला र १२५ जना पुरुषले सेवा लिनुभएको छ । आयुर्वेद डाक्टर कैलाश न्यौपानेसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श र निःशुल्क औषधि वितरण गरेको थियो ।

डाक्टरसहितको टोलीले गाउँमै पुगेर आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरेपछि स्थानीयहरु खुसी भएका थिए । सानातिना समस्याका लागि पनि टाढा जानुपर्ने बाध्यतामा रहेका स्थानीयहरुले आफ्नै ठाउँमा शिविर संचालन भएपछि राहत महसुस गरेका हुन् ।
शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख गणेश रावलले स्वागत मन्तवय संगै शिविर संचालनको उद्देश्य बारे जानकारी गराउनुभएको थियो ।
शिविरमा पेट दुखाइ, अपच, पाइल्स, मधुमेह, रक्तचाप र जोर्नी दुखाइजस्ता समस्या भएका बिरामी आएका थिए । उनीहरूलाई आयुर्वेदिक औषधि र जीवनशैली सुधारको सल्लाह दिइएको थियो । आयुर्वेद औषधिको कुनै पनि नकारात्मक असर नभएको र रोगलाई निको बनाउन प्रभावकारी हुनेभएकाले आयुर्वेद उपचार पद्धतीको उपचार गर्न आग्रह गरिएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य तिला घर्ती, वडा सदस्य टंक बहादुर वली, गाउँपालिका स्थित सचिवालयका खडग शाही, छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगी, जनस्वास्थ्य निरिक्षक शिषिर रिजाल, वडासचिव दुर्गा केसी, भलिवल खेलका राष्ट्रिय रेफ्री द्रोण चन्द, त्रिजमावि लेखचौरपानीका विव्यस अध्यक्ष कल्याण भण्डारी, प्रअ घनश्याम वली, वरिष्ठ बैद्य गिता परियार, आधारभुत आयुर्वेद स्वास्थ्य केन्द्र महानेटाका प्रमुख विजय कुमार घर्ती, सामाजिक परिचालक अमृता चन्द लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रेस सल्लाहकार शंकर केसीले गर्नुभएको थियो ।








