जेठ ०१, सल्यान – जिल्लाको शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले झुन्डिएर आत्महत्या गरेका छन् । आज (मंगलबार) बिहान करिब ४ बजेको समयमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । राना दम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेका छन् ।
केशवको मानसिक अवस्था ठिक नभएको र मापसे धेरै गर्ने गरेको कुरा स्थानीयबाट जानकारीमा आएको कार्कीले बताए ।
यसअघि आइतबार पनि सल्यानमा यस्तै घटना घटेको थियो । बनगाड कुपिण्डे नगरपालिका–४ देउलीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरी आफै झुन्डिएर आत्महत्या गरेका थिए ।