वैशाख १२,सल्यान – सल्यान कुमाख गाउँपालिका ५ कौछेको एक घरबाट विवाहको भोज खाई फर्कने क्रममा दुई समूहबिच विवाद हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ६ वडागाउँका २१ वर्षीय विकास वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कुटपिटबाट घाइते भएका वलीको मिसन अस्पताल रुकुम पश्चिमको चौरजहारीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लिने क्रममा बुधबार बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो । कुटपिटबाट अन्य दुई जना वडागाउँका १८ वर्षीय शुसिल केसी र २८ वर्षीय मदन केसी घाइते भएको प्रहरीको भनाई छ । घाइते मध्ये मदन भने डिस्चार्ज भइसकेका छन् भने अर्का एक जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।

कुटपिट गर्ने अन्दाजी २० वर्षीय मानसिहं कुमाई, १९ वर्षीय हेमन्त थापा लगायत ६/७ जना रहेको र उनीहरुको फरार रहेको प्रहरीको भनाई छ । विवादको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।