फागुन १४,बागचाैर नगरपालिका सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा) काे आयोजनामा १२ दिने ग्रामीण मर्मत तथा सम्भार कार्यकर्ता (VMW) तालिम सुरु भएको छ ।

साेमबार देखि वडा नं. १ काेटबेतमा सुरु भएको तालिमको उद्घाटन नगर प्रमुख जनकराज गाैतमले गर्नुभएको हाे ।

नगरपालिकामा निर्माणाधीन सुस्वा कार्यक्रम बाट संचालित ५ वटा खानेपानी आयोजना बाट ५ जना महिला , ५ जना पुरुष गरि १० जना  र नगरपालिकामा संचालित पुराना खानेपानी आयोजना बाट ५ जना गरी १५ जना तालिममा सहभागी छन् । तालिममा खानेपानी संरचनाका मुख्य अंगहरु, खानेपानी प्रणालीमा प्रयोग हुने सामग्रीहरुको प्रदर्शनी तथा उपयोग गर्ने तरिका, ग्रामीण मर्मत तथा संभार कार्यकर्ताले गर्नुपर्ने मुख्य काम बारे प्रयोगात्मक अभ्यास गराइनेछ ।

तालिमकाे उद्घाटन गर्दै नगर प्रमुख जनकराज गाैतमले खानेपानीको मर्मत सम्भार कार्यकर्ताले तालिम पश्चात आफ्नो गाउँमा सञ्चालित खानेपानीको मर्मत सम्भारका लागि काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सहभागीले प्रयोगात्मक र व्यहारिक तालिम सिकेर  त्यसलाई समुदायमा प्रयाेग गरेर स्वरोजगार समेत बन्न सहयोग पुग्ने अपेक्षा नगरपालिकाले लिएको बताउनुभयो ।

तुसारेखोला काेटबेत लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष देवीलाल सुनारकाे अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, वडा नं. १ का वडा अध्यक्ष गंगाराम बस्नेत, वास इकाई संयोजक बिरेन्द्र जाेशी, प्रशिक्षक, प्राबिधिक, कर्मचारी लगायतको उपस्थिति रहेकाे थियो ।