तीव्र रूपमा फैलिएको लम्पी स्किन रोग कर्णालीका सबै जिल्लामा फैलिएको छ ।

केही दिन अघिसम्म कर्णालीका सात वटा जिल्लामा मात्रै देखिएको अहिले भने सबै जिल्लामा यो रोग देखिएको हो । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, र हुम्लाका गाई र भैँसीमा ‘लम्पी स्किन’ रोग भने व्यापक रूपमा फैलिएको छ । सङ्क्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन् भने कैयौँ चौपायाको यसै रोगका कारण मृत्यु समेत भइसकेको छ । पशुपन्छी विकास निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशका दश वटै जिल्ला गरी दुई लाख बढी गाईभैंसीमा यो रोग देखा परिसकेको जनाएको छ ।

यो रोगबाट कर्णाली प्रदेशमा सबैभन्दा बढी सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत र हुम्ला जिल्ला प्रभावित बनेको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो । यो रोग भयावह रूपमा देखिँदै गए पनि रोकथामका लागि भने प्रभावकारी पहल हुन सकेको छैन ।

यस अघिसम्म गाई र गोरुमा मात्रै देखिएको ‘लम्पी स्किन’ पछिल्लो समय भैँसीमा समेत देखिएको छ । यस्तै, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अहिले रोकथामका काम भैरहेको र भ्याक्सिन खरिदको प्रक्रियामा रहेको जनाएको छ । मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले भ्याक्सिन खरिदका लागि ५ लाख बजेट रहेको र बाँकी बजेटका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा पहल भइरहेको जानकारी दिनुभयो