काठमाडौं — नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका तथा सर्जक लक्ष्मी न्यौपानेको नयाँ तीज गीत ‘हो पिया राजै’ सार्वजनिक भएको छ। गीतको भिडियोसहित न्यौपानेको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।
‘हो पिया राजै’ मा लक्ष्मी न्यौपानेको स्वर रहेको छ भने गीतका शब्द लक्ष्मी न्यौपाने र झलक रेग्मीले लेखेका हुन्। गीतमा संगीतसमेत लक्ष्मी न्यौपानेकै रहेको छ। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
गीतको संगीततर्फ रेकर्डिस्टका रूपमा गोविन्द अनेक र राकेश सोनी, कोरस आवाजमा बिन्दु बी.सी. र सुनिता लोहनी,सारंगीमा हेमन्त कान्छा रसाइली, मादलमा खड्ग बुढा तथा बाँसुरीमा रत्न बी.के.को योगदान रहेको छ। गीतको रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियो, बबरमहलमा गरिएको हो।
गीतको भिडियोमा नारायणी खत्री, रीना थापा मगर र निहारिका रेग्मी लगायतको अभिनय तथा नृत्य रहेको छ। तीजको मौलिक सांस्कृतिक परिवेश, महिला सहभागिता र मनोरञ्जनलाई केन्द्रमा राखेर भिडियो तयार गरिएको देखिन्छ।
भिडियोको कोरियोग्राफी तथा निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छन् भने सहायक कोरियोग्राफर भागीरथा गाहा रहेका छन्। छायांकन बुद्ध थापा एन्ड टिमले गरेको छ। भिडियोको सम्पादन तथा कलर नबिन घर्ती मगरले गरेका छन् भने मेकअप सरिता मगरको रहेको छ।
‘हो पिया राजै’को भिडियो ललितपुरस्थित लिसारा रिसेप्सन्समा छायांकन गरिएको हो। भिडियोको पोस्ट प्रोडक्सन गुरुआमा फिल्म्स, अनामनगरले गरेको छ।
तीजको माहोल सुरु भएसँगै सार्वजनिक भएको ‘हो पिया राजै’ले दर्शक–श्रोतामाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ। मौलिक तीजको स्वाद र नृत्यप्रधान प्रस्तुतिसहित आएको यो गीतले यस वर्षको तीजमा थप रौनक ल्याउने अपेक्षा गरिएको छ।
भिडियो हेर्न :-








