जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका–६, रोकायजाँतमा जन्मिएका युवा सर्जक टेकेन्द्र रोकायको शब्द सिर्जनामा रहेको नयाँ तीज गीत ‘घुटु घुटु पिए बरिलै’ सार्वजनिक भएको छ।

टोपेन्द्र रसाइलीको प्रस्तुति रहेको गीतमा चर्चित गायिका कोपिला छिनालको स्वर, टोपेन्द्र रसाइलीको संगीत तथा पूर्ण संयोगको एरेन्ज रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ खड्क बजुरालीले गरेका छन् भने रेकर्डिङ मलश्री स्टुडियोमा गरिएको हो।

मिलन श्रेष्ठको निर्देशनमा जुना कार्कीको लगायतका कलाकार फिर्चड भएका छन् । रोशन धितालको सम्पादन र रङ संयोजन रहेको छ।

रोकायको सिर्जनात्मक यात्रा भने सहज छैन। सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिएका उनले अभाव र संघर्षबीच आफ्नो बाल्यकाल बिताए। नयाँ चप्पल किन्न नसक्दा पुरानो चप्पलमा डोरी बाँधेर विद्यालय जानुपरेका दिनदेखि किताब बोक्ने झोला नहुँदा धागोको झोलामा किताब बोकेर विद्यालय पुगेका स्मृतिहरू आज पनि उनका लागि जीवनका अविस्मरणीय अध्याय हुन्।

उनले गाउँकै श्री मालिका प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरे। त्यसपछि सुर्खेतको गुर्भाकोट–१३, गुमीमा बसेर माध्यमिक शिक्षा पूरा गर्दै वीरेन्द्रनगरमा उच्च माध्यमिक तहसम्म अध्ययन गरे। अध्ययनकै क्रममा वैवाहिक जीवनमा प्रवेश गरेपछि परिवारको जिम्मेवारी थपिँदै गयो।

देशको सेवा गर्ने उद्देश्यले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा वन रक्षकलगायतका विभिन्न सरकारी सेवामा पटक–पटक प्रयास गरे पनि अन्तिम चरणमा पुगेर सफल हुन सकेनन्। अन्ततः आर्थिक बाध्यताले उनलाई रोजगारीका लागि परदेशिन विवश बनायो। अहिले पनि उनी वैदेशिक रोजगारीमा रहेर आफ्नो परिवारसँगै सिर्जनाको यात्रालाई निरन्तर अघि बढाइरहेका छन्।

बाल्यकालदेखि नै गीत–संगीत, साहित्य र रेडियोप्रति विशेष रुचि राख्ने रोकायले आफ्ना भोगाइ, समाजका यथार्थ र लोकसंस्कृतिलाई गीत तथा साहित्यिक सिर्जनामार्फत अभिव्यक्त गर्दै आएका छन्। उनका सिर्जनामा गाउँ, माटो, संघर्ष, माया, समाज र नेपाली संस्कृतिको गहिरो प्रतिबिम्ब देख्न सकिन्छ।

सार्वजनिक भएको ‘घुटु घुटु पिए बरिलै’ तीज गीत पनि मौलिक नेपाली संस्कृतिलाई आधुनिक प्रस्तुतिसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ। गीत टोपेन्द्र रसाइली अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

रोकाय भन्छन्, “अभाव, असफलता र संघर्ष जीवनका अन्तिम गन्तव्य होइनन्। दृढ इच्छाशक्ति, निरन्तर मेहनत र सकारात्मक सोच भए कुनै पनि सपना अधुरो रहँदैन। आज परदेशमा भए पनि एक दिन आफ्नै गाउँ, समाज र देशका लागि अर्थपूर्ण योगदान दिने सपना अझै जीवित छ।”

गितको भिडियो :-