२५ पुष २०८२, शुक्रवार सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।शुक्रबार दिउँसो करिब ३:१० बजे पर्सेनी निवासी अन्दाजी ४२ वर्षीया धनसरी रावत घर नजिकैको जंगलमा घाँस–दाउरा काट्ने क्रममा बाघले आक्रमण गरी उनलाई जंगलतर्फ तानेर लगेको भन्दै स्थानीयले प्रहरी चौकी घुईयाबारी, सल्यानमा टेलिफोनमार्फत जानकारी गराएका थिए।

सूचना प्राप्त भएपछि दिउँसो ३:२५ बजे प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा दुई जनाको प्रहरी टोली स्थानीयवासीसँगै खोजतलासका लागि घटनास्थलतर्फ गएका थिए। घटनास्थल प्रहरी चौकी घुईयाबारीबाट करिब १ किलोमिटर दक्षिणतर्फ पर्ने हरियाली सामुदायिक वन क्षेत्रमा रहेको छ।प्रहरी टोलीले दिउँसो ४:१५ बजे घटनास्थलमा पुगेर बुझ्दा, मृतक धनसरी रावत बिहान करिब ८ बजे हरियाली सामुदायिक वनमा घाँस–दाउरा काट्न गएको खुलेकाे छ।

खोजतलासका क्रममा साँझ ५ बजे घरबाट करिब ५०० मिटर दक्षिणतर्फ हरियाली सामुदायिक जंगलमा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।शवको बायाँ खुट्टा र मलद्वारको भाग बाघले खाएको अवस्थामा भेटिएको प्रहरीको भनाइ रहेको छ
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।