पुष २३ । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पार्टीका उम्मेदवार टुंगो लगाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय संसदीय समितिले सिफारिस गरेका उम्मेदवारहरूको नाम अनुमोदन गरेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार माघ ११ गते हुने निर्वाचनका लागि विधानको व्यवस्था बमोजिम विभिन्न प्रदेशबाट उम्मेदवार चयन गरिएको कांग्रेसले जनाएको छ ।
कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना उम्मेदवार बनेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर के.सी., कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार चयन भएका छन् ।
कांग्रेसले समावेशी सिद्धान्तअनुसार महिला, दलित, अपाङ्गता/अल्पसंख्यक तथा अन्य समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवार छनोट गरिएको जनाएको छ ।
बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू, केन्द्रीय सदस्यहरू तथा प्रदेश सभापतिहरूले आ–आफ्ना धारणा राखेका थिए ।








