पुष १३,
सल्यान । बागचौर नगरपालिकामा सुरक्षित तथा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले पालिकास्तरीय खानेपानी गुणस्तर परीक्षण अभियान सुरु गरिएको छ। उक्त अभियान बागचौर नगरपालिका र सुस्वा (SUSWA) आयोजनाको सहकार्यमा सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत नगरपालिकाभित्रका विभिन्न वडाबाट संकलन गरिएका खानेपानीका नमुनाहरूको गुणस्तर परीक्षण बागचौर नगर कार्यपालिकाको कार्यालयमा गरिएको छ। यस परीक्षणमार्फत पानीमा रहेका जैविक, भौतिक तथा रासायनिक गुणस्तरको प्रारम्भिक अवस्थाको मूल्याङ्कन गरिएको जनाइएको छ।
यसै अवसरमा बागचौर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा आधारभूत स्तरको खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। स्थानीयस्तरमै प्रारम्भिक गुणस्तर परीक्षण गर्न सकिने यस प्रयोगशालाबाट पानीको नियमित अनुगमन सहज हुने र सुरक्षित खानेपानीको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावल प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा नगर प्रमुख जनकराज गौतम, नगर प्रवक्ता दिपेश डि.सी., कार्यपालिका सदस्य रेशम बि.क., शाखा प्रमुखहरू, प्राविधिक कर्मचारीहरू, खानेपानी उपभोक्ता समिति प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरपालिकाले स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै, यस अभियानले दीर्घकालीन रूपमा जनस्वास्थ्य संरक्षण, रोग नियन्त्रण तथा जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।









