काठमाडौं । असार १० देखि जारी स्थायी कमिटीको बैठक रोकेर भदौको पहिलो साता केन्द्रीय कमिटीको बैठक बोलाउन केपी ओली, प्रचण्ड र माधव नेपाल बिहीबार बालुवाटारमा सहमत भएका थिए । शुक्रबार ११ बजे स्थायी कमिटीको बैठक बस्ने र त्यहीँबाट केन्द्रीय कमिटीको मिति तोक्ने तीन नेतावीच सहमति भएको थियो ।

तीन नेताको ‘जेन्टलमेन एगि्रमेन्ट’पछि शुक्रबार बेलुकै प्रचण्डनिवास खुमलटार र प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई गुटका बेग्लाबेग्लै बैठकहरु बसे ।

आफ्नो गुटको भेलामा प्रचण्ड-माधव समूहका नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउनु उपयुक्त हुने निश्कर्ष निकाले । तर, बालुवाटारमा बसेको ओली गुटको बैठकले भने अहिलेको अवस्थामा केन्द्रीय कमिटीको बैठकमा जाँदा आत्मघाती हुन सक्ने निश्कर्ष निकाल्यो ।

स्थायी कमिटीको निर्णयलाई त केन्द्रले अनुमोदन गर्नुपर्छ भनेर केही समय टार्न सकिएला, तर केन्द्रीय कमिटीले जे निर्णय गर्छ, प्रधानमन्त्रीले त्यसलाई मान्नैपर्ने हुन्छ भन्दै ओली पक्षका नेताहरुले ओलीलाई सतर्क गराए ।

बिहीबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीले पोखरेलसहित महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसहित प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।

छलफलमा अर्को पक्षको सम्भावित कदम र त्यसको सामना गर्ने रणनीतिका ओलीले परामर्श गरेका थिए । केन्द्रीय कमिटीको बैठक बोलाउन प्रधानमन्त्रीले दिउँसो गरेको सहमति उचित नभएको उनी निकटका नेताहरुले सुझाएपछि ओली अघिल्लो दिनको सहमतिबाट एकाएक ‘ब्याक’ भए ।