सल्यान । रसुवामा २०८३ भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सल्यानको सिद्धकुमाख गाउँपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिका अध्यक्ष भरत गिरीले आफ्नो तलब–भत्ताबाट २० हजार २ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ। व्यक्तिगत रूपमा सहयोग गरेसँगै गाउँपालिकाले पनि बाढीपहिरो प्रभावितका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष गिरीले जानकारी दिनुभयो।
अध्यक्ष गिरीका अनुसार गाउँपालिकाको बैठकबाट उक्त रकम सहयोग गर्ने निर्णय भएको हो। व्यक्तिगततर्फबाट गरिएको सहयोग र पालिकाले उपलब्ध गराउने रकम गरी कुल ५ लाख २० हजार २ सय ११ रुपैयाँ विपद् प्रभावितका लागि सहयोग हुने भएको छ।
बाढीपहिरोबाट भएको जनधनको क्षति पूर्ति गर्न तत्काल सम्भव नभए पनि विपत्तिको समयमा प्रभावितको साथमा उभिनुपर्ने अध्यक्ष गिरीको भनाइ छ।
उहाँले “देशलाई अहिले सहयोग आवश्यक छ। सबैले आफ्नो–आफ्नो ठाउँबाट सकेको सहयोग गरौँ। मैले मेरो जिम्मेवारी पूरा गरेँ,” भन्दै विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ।
अध्यक्ष गिरीले व्यक्तिगत रूपमा तलबबाटै रकम सहयोग गर्नुका साथै पालिकाको तर्फबाट समेत ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गराउनुलाई विपत्तिको समयमा मानवीय जिम्मेवारी निर्वाह गर्ने उदाहरणीय कदमका रूपमा लिन सकिन्छ।








