बागचौर, सल्यान जेठ २२। स्वर्गीय भिम बहादुर वलीको पवित्र स्मृतिमा जनप्रिय पोलिक्लिनिक प्रा.लि., बागचौर–२ द्वारा आयोजित दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। जेठ २१ र २२ गते सञ्चालन गरिएको शिविरबाट कुल १५६ जना सेवाग्राही लाभान्वित भएका छन्, जसमा १३३ जना महिला र २३ जना पुरुष रहेका छन्।
शिविरमा भारतको लखनउस्थित Integral University Hospital का जनरल सर्जन डा. शहजाद मोहम्मद खान (MBBS, MS) ले विशेषज्ञ स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गर्नुभएको थियो। शिविरमा स्तन तथा शरीरका गाँठागुँठी, हर्निया, हाइड्रोसिल, पायल्स, फिस्टुला, एपेन्डिक्स, महिलासम्बन्धी रोग, थाइराइड, मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक तथा दमलगायतका समस्याको विशेषज्ञ जाँच तथा उपचार गरिएको थियो।
ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ स्व. भिम बहादुर वलीले स्थापना गर्नुभएको जनप्रिय पोलिक्लिनिकले उहाँको निधनपछि पनि सामाजिक सेवाको अभियानलाई निरन्तरता दिँदै आएको छ। स्व. वलीको सम्झनामा हरेक वर्ष विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जनप्रिय पोलिक्लिनिकका प्रबन्धक तथा स्व. वलीका भाइ प्रभाकर वलीले जानकारी दिनुभयो।
उहाँका अनुसार, “दाजुले देख्नुभएको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सपनालाई निरन्तरता दिन हामीले हरेक वर्ष उहाँकै स्मृतिमा यस्तो शिविर सञ्चालन गर्दै आएका छौं। स्थानीयवासीको उत्साहजनक सहभागिताले हामीलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ।”
विशेषज्ञ चिकित्सकको सेवा आफ्नै नगरमा उपलब्ध हुँदा स्थानीय नागरिकले सहज रूपमा लाभ लिन पाएका छन्। आगामी दिनमा पनि यस्ता जनमुखी तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने जनप्रिय पोलिक्लिनिकले जनाएको छ।
“स्वास्थ्य सेवामा पहुँच विस्तार, स्व. भिम बहादुर वलीप्रति सच्चा श्रद्धाञ्जली” भन्ने मूल सन्देशका साथ सम्पन्न शिविरले स्थानीय स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पारेको विश्वास गरिएको छ।







