सल्यान । सल्यानमा एक पुरुषको शव भेटिएको छ । शुक्रवार अन्दाजी साँढे ५ बजेको समयमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका २ कालिभिर नजिकै भेरी नदीमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानएको छ । भेरी नदिमा तैरिरहेको अवस्थामा भेटिएको शवको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अन्दाजी २० २१ वर्षीय पुरुषलाई जाजरकोटतिरबाट नै बगाएर ल्याएको हुन सक्ने अनुमान गरीएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठले बताए ।

भेरीमा तैरिरहेको पुरुषको शव निकालेर अहिले ईलाका प्रहरी कार्यालय सल्लीबजारमा राखिएको र सनाखतको प्रयास भइरहेको उनले जानकारी दिए । उनका अनुसार कतै कोही हराएको छ कि विभिन्न जिल्लाका प्रहरीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । उक्त शवको प्रहरीले मुचुल्का उठाएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने निरीक्षक श्रेष्ठले जानकारी दिए ।