मंसिर २० सल्यानको कुमाख गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाइ वडाबाट वितरण गर्ने भएको छ । 
बुधबार वडा नं. १ बाट शुरु गरिने शिविरमा यस बर्षको पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो । 
शिविरमा ५ बर्ष मुनिका बालबालिका बाहेक सामाजिक सुरक्षा प्राप्त गर्ने अन्यलाई वितरण गरिनेछ । 
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले हस्ताक्षर गरेको सूचनामा ६८ बर्ष माथिका जेष्ठ नागरिक, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, विधुवा, पूर्ण अपाङ्गता र अशक्त अपाङ्गता नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जनाइएको छ । 


मंसिर २१ गते वडा नं. १ बाट, मंसिर २५ गते २ नं वडा कार्यालय, २८ गते ३ नं. वडा कार्यालय र २९ गते हिमालय बैंक रागेचौरमा भत्ता वितरण गरिनेछ । 
त्यस्तै पौष ३ गते ४ नं. वडा कार्यालय, ५ गते ५ नं. वडा कार्यालय र ७ गते ६नं. वडा कार्यालयमा शिविर चल्नेछ । 
विहान १० बजेदेखि बेलुका ३ बजेसम्म हुने शिविरमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र, नागरिकता र अपाङ्गता परिचयपत्रका आधारमा भत्ता वितरण गरिनेछ।