असार २२, सल्यान । सल्यानको रानीपोखरीमा एर्पोट बनाउनका लागि बागचौर नगरपालिका वडा नम्बर ८ र ९ ले पहल थालेका छन् ।

बागचौर नगरपालिका ८, ९ र छत्रेश्वरी गाउँपालिका १ को सिमा क्षेत्र आसपासमा रहेको रानीपोखरी क्षेत्रमा एर्पोटको राम्रो सम्भावना भएको भन्दैमा वडा नम्बर ८ र ९ ले पहल सुरु गरेका हुन् ।
वडा नम्बर ८ वडा पदाधिकारीहरुको हालै बसेको बैठकले रानीपोखरीमा एर्पोटका लागि सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट माग गर्ने निर्णय गरेको हो । योजनाको विस्तृत डिपिआर गर्नको लागि बजेट माग सहित मन्त्रालयमा जाने वडाध्यक्ष सुशील जंग चन्दले बताए ।

त्यस्तै वडा नम्बर ९ ले पनि यहाँ एर्पोट बनाउन आवश्यक रहेको भन्दै योजना (डिपिआर) गर्न माग गरेको अध्यक्ष यज्ञ बहादुर डाँगीले बताए ।

सल्यान जिल्लामै एर्पोटका लागि यो क्षेत्र अति उत्तम रहेको उनले बताएका छन् । यो क्षेत्रमा एर्पोट बनाउने भन्दै करिब ६ दशक अघि दमाचौरका मस्त बहादुर चन्दले पहल थालेका थिए । त्यसबेला करिब एक हप्ता जति स्थानीयहरुले मैदान बनाउनका लागि जनश्रमदान समेत गरेका थिए ।