२०७९ जेठ १६ गते सोमबार

आइतबार बिहानदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको हो । दुर्घटनामा ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ र नेपाली सेना तथा सशस्त्र प्रहरीको टोलीले शव संकलन गरिरहेको बताइएको छ ।

यार्सागुम्बा संकलनका लागि पुगेका स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो ।

आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।