जेष्ठ १३ काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।को हुन् बालेन ? ३१ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी र्यापरका रूपमा पनि चर्चित छन् ।काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्यापर तथा कवि–लेखक साहको जितलाई कमैले आंकलन गरेका थिए । तर पुराना राजनीतिक दलहरुलाई चुनौति दिँदै उनी काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका छन् ।सुरुवातमा विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका थिए । पछि क्रमशः अन्य क्षेत्रका अगुवाहरु पनि उनको पक्षमा खुल्दै गए ।मेयरका अर्का प्रतिष्पर्धी केशव स्थापितले उनलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिन थालेपछि साह झनै चर्चामा आए । उनले स्थापित आफ्नो ब्राण्ड एम्बेसड भएको अभिव्यक्ति दिएका थिए ।आफ्नो इञ्जिनियरिङ पृष्ठभूमिका कारण काठमाडौंको विकास लागि आफू योग्य उम्मेदवार भएको उनको बुझाइ थियो । ‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ, थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु,’ उनले भनेका थिए, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ, मैले निर्वाचित भएपछि गर्ने काम भनेको पनि तिनै विषयमा केन्द्रीत हुनेछ ।’